समाचार

section_underline

एमालेको सङ्कल्प यात्रा : कार्यकर्तामा उत्साह, जनतामा विश्वास

बैशाख २७, २०८१

एमालेको सङ्कल्प यात्रा : कार्यकर्तामा उत्साह, जनतामा विश्वास

नेकपा एमालेको संकल्प यात्रा सकिएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पौष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगियो । मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राले मूलतः कार्यकर्तामा उत्साह जगायो भने जनतामा एमालेप्रतिको विश्वास बढायो ।

मुलुकमा अनेक खालका समस्याहरु बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले संकल्प यात्रा गरेर जनताका बीचमा जाने प्रयत्न गरेको छ । विकासको सम्भाव्यता पहिचान गर्ने र स्थानीय बासिन्दाले भोगिरहेका समस्या सुन्दै समाधानका उपाय खोजिगर्दै प्रतिपक्षका तर्फबाट सरकारलाई खबरदारी गनै काम भयो ।

पृष्ठभागमा देश र जनताका सवाललाई यात्राको प्रमुख उद्देश्य देखाइए पनि पार्श्वभागमा राजनीतिक उद्देश्य नै प्रमुख थियो । संकल्प यात्रा मुलुकको समृद्धिका लागि एमालेको मजबुद संगठन निर्माण र  ‘मिसन–०८४’ कै एक हिस्साका रुपमा बुझ्नुपर्दछ ।

नेकपा (एमाले) ले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्य राखेर शृंखलाबद्ध अभियान चलाइरहेको छ । २०७९ फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरूट’ अभियान चलाएको एमालेले लगत्तै प्रदेशका अधिवेशनहरू सम्पन्न गरेर पार्टी पंक्तिलाई चलायमान बनायो । अहिले मध्यपहाडी भेगलाई केन्द्रमा राखेर संकल्प यात्रा ग¥यो । संकल्प यात्राले पार्टी एकमना एकताका साथ नेतृत्वको आकर्षणसँगै जनताको साथ र कार्यकर्ताको जगमा अडिएको पार्टीका रुपमा एमाले देखाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत जहाँ जहाँ एमालेका भेटघाट र सभाहरु भए त्यहाँ स्वस्फुर्त आम नागरिकको उल्लेख्य उपस्थिती रह्यो । यसले नै एमालेको जग कति बलियो छ भन्ने दर्शाएको छ ।

लोकतन्त्रमा नागरिकले उत्तरदायी सेवक खोज्छन्, कार्यकर्ताले जवाफसहितको नेता । अध्यक्ष केपी शर्मा ओली यतिबेला एमाले कार्यकर्ताका लागि मात्रै होइन सिंगो देशबासीका आशालाग्दा, राष्ट्रियताका सवालमा सत्तामा हुँदा होस् वा सडकमा उत्तिकै सकृय नेता हुन् भन्ने यो यात्राका क्रममा भएका कार्यक्रमहरुले पुष्टि गर्दछ । ओलीपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेरसँगै अरुअरु उत्तिकै प्रभावशाली नेताहरुको एकतावद्ध यात्राले कार्यकर्तालाईलाई उत्साहित बनाएको छ । जनताका मुद्दामा एमाले संवेदनशिल छ भन्ने देखाएको छ ।

पाँच लाख बढी संगठित सदस्य, दुई  दर्जन जनसंगठन, एक हजार हाराहारी प्रदेश सदस्य, तीन सय बढी केन्द्रीय सदस्य भएको एमालेमा नेतृत्वको निर्देशन र पार्टीको नीति निर्णयमा स्थानीय सम्बन्ध बढाउँदै राष्ट्रिय सन्देश दिन एमाले सफल भएको छ । मध्ये पहाडी क्षेत्रमा पार्टीका कार्यक्रम र भेटघाट भए तर यसको सन्देश विश्वभर फैलिएको छ । सामाजिक सञ्जाल एमालेको महाअभियान मय बनेको छ ।

सहरी क्षेत्रलाई छाडेर हेर्ने हो भने मध्यपहाडी लोकमार्ग आसपासका गाउँहरू निर्जन बन्दैछन् । सुविधाको खोजीमा सहर पस्नेको जमातले राजमार्ग सुनसान छ । ट्र्याक जोडिरहेका ठाउँमा मात्र होइन, कालोपत्रे भइसकेको ठाउँमा पनि बजार बन्न सकेको छैन।

ती ठाउँको सम्भावना उजागर गर्न, मध्यपहाडी राजमार्गलाई नै चर्चामा ल्याउन संकल्प यात्रा फलदायी बन्ने धेरैको अपेक्षा छ ।

एमालेको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान राजनीतिक सौहार्दताको द्योतक पनि बनेको छ । ठाउँ ठाउँमा फरक पार्टीका नेता कार्यकर्ताले पनि अभियान र पार्टी नेतृत्वलाई स्वागत सम्मान गरे । अभियानमा रहेका नेताहरुले फरक पार्टीका नेताहरुसँग हार्दिकता साटे । अभियानका क्रममा कतिपय जिल्लामा सर्वदलीय छलफल भयो । यस्ता गतिविधिले समस्या समाधानमा साझा पहलकदमीको संस्कृति विकास गर्न ग्रासरुढमा निकै महत्वपूर्ण सन्देश दिएको छ ।

अहिले हाम्रो मुलुक आर्थिक रुपमा समस्याग्रस्त छ । देशमा उद्योगधन्दा, व्यवसाय सबै चौपट छन् । राजनीतिक दलहरुमा पनि उत्तिकै समस्या छ । नेकपा एमाले स्वयम् पनि एकता र विभाजनको पीडाबाट राम्रोसँग तङ्ग्रिसकेको छैन । यस्तो अवस्थामा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ गरेको छ । जसरी चीनमा कम्युनिष्ट पार्टी धरमराउँदो अवस्थामा रहेको बेला माओ त्से–तुङले लालसेनाको ‘लङ मार्च’ सुरु गरेका थिए ।

‘लङ मार्च’ अभियानले माओ त्से–तुङलाई पार्टीमा अध्यक्षकै भूमिकामा फर्काउँदै च्याङकाई सेक सरकारलाई परास्त गरी जनवादी गणतन्त्र चीनको स्थापना गर्न महत्वपूर्ण टेवा पु¥यायो । अहिलेको समृद्ध चीन ९० वर्षअघि माओ त्से–तुङले नेतृत्व गरेको ‘लङ मार्च’को परिणाम हो भन्न कञ्जुस्याइँ गर्नुपर्ने अवस्था छैन । त्यस्तै नेपालको समृद्धिमा यो संकल्प यात्राले पनि भूमिका खेल्ने निश्चित छ ।

एक हजार ८७९ किलोमिटर पार गर्दै बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङसम्म पुगेको  यो यात्राले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारा सार्थक बनाएको छ ।

देशको अवस्था, पार्टीको गतिविधि, नेपाली जनताको समस्या, मुलुकको भौगोलिक अवस्थितिबारे जानकारी राख्ने उद्देश्यले मुख्यतः निर्माणाधीन मध्यपहाडी लोकमार्ग हुँदै अघि बढेको एमालेको यो अभियानको छुट्टै महत्व राख्दछ ।

अभियानको विषयमा केही फेसबुके अतिवादी लेखक, एमाले विरोधी अभियान चलाइरहेका टिप्पणीकार, एमालेलाई गाली गरेर आफु बढ्ने दिवा सपना देख्नेले आलोचना गरेको भए पनि समग्रमा सङ्कल्प यात्राले स्थानीय समस्या बुझ्न र समाधानको लागि नीतिगत पहल गर्न सहयोग पुग्ने प्रतिक्रिया नै आइरहेको छ । सधैं एमालेको आलोचना गर्नेहरुले पनि अभियानलाई सकारात्मक भनेर प्रशंसा गरेको यो दुर्लभ परिघटना नै हुनुपर्छ ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता विभिन्न जिल्ला पुग्दा ती जिल्लाका स्थानीय राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मीलगायतले स्थानीय एवं राष्ट्रिय समस्यासहितको ध्यानाकर्षणपत्र बुझाएर अभियानको सार्थकतालाई पुष्टि गरेका छन् ।

यो यात्राको अर्को पाटो पनि छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र सार्थकताको पुनर्पुष्टि । नेपालको राजनीतिमा पछिल्लो अवस्थामा देखिएको परिदृश्यले सर्वाधिक सक्रिय, सकारात्मक एवं विकासे दृष्टिकोण भएको एक जना नेताको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उभ्याइरहेको छ । उमेर, शारीरिक अस्वस्थतालगायत तपसिलका विषयलाई पन्छाएर विकास र समृद्धिको पक्षमा आफूलाई अहोरात्र धकेलिरहने नेता केपी शर्मा ओलीमात्र हुन् भन्ने कुराको पुनर्पुष्टि र प्रमाण एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ हो । यात्रामा अध्यक्ष ओलीले देखाएको सक्रियता अतुलनीय छ ।

एक जना स्वस्थ र युवा व्यक्तिले समेत हप्तौं यात्रा गरेर सयौं–हजारौंसँग संवाद तथा दैनिक हुने सभामा घण्टौं मन्तव्य दिने कुरा असम्भव प्रायः लाग्छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौं–हजारौंसँग संवाद र दैनिक आयोजना हुने सभाहरुमा सक्रियतापूर्वक गुनासो सुन्ने, विचार दिने र बहस गर्ने कामलाई जारी राखेका छन् । यो अध्यक्ष ओलीको विकास र समृद्धिको पक्षमा देखिएको आत्मविश्वास हो । सँगै मध्यपहाडी लोकमार्गको दूरी कम गर्न सकिन्छ कि भनेर अभियानकै क्रममा इन्जिनियरहरुको टोलीसमेत परिचालन गर्नु अर्को सकारात्मक पाटो मान्न सकिन्छ ।

एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ ले मध्यमहाडी लोकमार्गलाई पुष्पलाल राजमार्ग र उतिबेलाको सिल्करोडसँग जोडिदिएकोले तीन वटै मार्गलाई सँगसँगै विकास गर्नसमेत सहज हुने धेरैको अपेक्षा बुझियो । अनि शहरका मात्र हैन, गाँउको कुना–कन्दराहरुमा रहेका नागरिकसँगै एउटै मेसोमा अन्तरक्रिया गर्दा आर्थिक समृद्धि र विकासमा नयाँ दृष्टिकोणसहितको योजना निर्माणमा दरिलो आधार प्राप्त भएको छ ।

जनवादी गणतन्त्र चीन अहिले आर्थिक, प्रविधि र मानवीय विकास तथा सामाजिक सद्भावमा विश्वकै उत्कृष्टमध्यको शीर्ष स्थानमा रहेको छ । चीनको यो चमत्कारी विकासमा झण्डै १०० वर्षअघि माओ त्से–तुङले नेतृत्व गरेको चिनियाँ लाल सेनाको ‘लङ मार्च’ को भूमिका महत्वपूर्ण रहेको छ ।

यो सन् १९३४ को कुरा हो । त्यतिबेला चीनमा च्याङकाई सेकको शासन थियो र चीनको कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेको थियो । अनि माओ त्से–तुङलाई आफ्नै पार्टीले समेत अध्यक्ष पदबाट हटाएको थियो । यस्तो विषम परिस्थितिमा माओ त्से–तुङले सन् १९३४ मा चिनियाँ लाल सेनाको नेतृत्व गर्दै कम्युनिष्ट पार्टीको विस्तार तथा मुलुकको समृद्धिको लागि ‘लङ मार्च’ सुरु गरे । उनको यो अभियानमा देङ सियाओ पिङलगायतका नेताले साथ दिएका थिए ।

पुरुष र महिला गरी ८६ हजार चिनियाँ लाल सेनाको सहभागिता रहेको ‘लङ मार्च’ अभियान ३८१ दिनसम्म चलेको थियो र यो क्रममा चिनियाँ लाल सेनाले नौ हजार किलोमिटर पार गर्दै चिनियाँ जनताको समस्या, चिनियाँ भूगोल, च्याङकाई सेक सरकारको गतिविधि जस्ता विषयमा गहन चासो दिएको थियो । ‘लङ मार्च’को क्रममा च्याङकाई सेकको राष्ट्रिय सेनाले ठाउँ–ठाउँमा अवरोध प्रयास गरे पनि त्यसलाई छिचोल्दै विश्वको चमत्कारी संरचना ग्रेटवालमा सन् १९३५ को अक्टोबर २० मा अभियान टुङ्ग्याइएको थियो ।

एमालेको यो अभियानमा पनि अवरोध गर्ने धम्की र चेतावनी नआएका होइनन् तर एमालेको बलियो संगठन र जनताको साथका अघि त्यसप्रकारका कुनै अवरोधले यात्रा रोकिएन ।

चीनमा त्यो बेला गरिएको ‘लङ मार्च’ र नेपालमा अहिले एमालेले गरेको संकल्प यात्राका केही उद्देश्य र उपब्धि फरह होलान् तर यो दर्विलो इतिहास भने पक्कै बन्नेछ । देश जनताका बीचमा फेरि पनि एमाले पहिलो र प्यारो पार्टी हुनेछ ।

(कट्वाल नेकपा एमाले ओखलढुंगाका प्रचार विभाग प्रमुख हुन्)